फिल्म: कबड्डी
लेखक तथा निर्देशक: रामबाबु गुरुङ
निर्माता: सुनीलचन्द रौनियार र निश्चल बस्नेत
कलाकारहरु: दयाहाङ राई, निश्चल बस्नेत, रिश्मा गुरुङ, बुद्धि तामाङ, विजय बराल, शिशिर बाङदेल, अरुणा कार्की, राजन खतिवडा, कविता आले, पशुपति राई, पुष्कर गुरुङ तथा अन्य…
समय: ~१२० मिनेट
रेटिङ: १० मा ७
‘यस कथाका पात्रहरु काल्पनिक हुन, कसैको वास्तविक जीवनसँग मेल खान गएमा हामीलाई खबर गर्नुहोला।’
माथि उल्लेखित सूचना सँगै काठमाडौँबाट करिब ४०० किमिको दुरीमा रहेको निलगिरी, धवलागिरी अनि अन्नपुर्ण श्रृङ्खलाको काखमा अवस्थित मुस्ताङको नौरिकोटबाट फिल्मको कथा सुरु हुन्छ। सुरुवातमा चारजना पात्रहरु देखा पर्छन… जसका सोल्टिनि बिहे गर्ने, अरब जाने देखि क्याम्पस पढ्ने सम्मका अा-अाफ्नै सपना हुन्छन्। तीन कक्षा पछि पढाई छोड्ने विर’काजी’ मुख्य भुमिकामा देखा पर्छ, जसले सोल्टिनि सँग साँचो तर एकोहोरो प्रेम गर्छ तर सोल्टिनि भने काजीको अशिष्ट स्वभाव र अाफ्नो शहर गएर पढ्ने सपनाको कारण काजीको खासै वास्ता गर्दिनन्। काजीका दुई साथीहरु (बुद्धि र विके) राम्रा-नराम्रा सबै कुरामा काजीकै पछि लाग्छन्… काजीको बिहे भए देखी अाँफुहरु अरब जान पाईने सपना सँगालेर। काजी र उसका दुई साथीहरु सोल्टिनीलाई खुसी पार्न सकेजति सबै हतकण्डा अपनाउँछन तर सफल हुन सक्दैनन्। त्यतिकैमा काठमाडौँबाट एउटा अर्को पात्र त्यहि गाउँमा अाईपुग्छ, विवेक! त्यसपछि सुरु हुन्छ लछार्ने र पछार्ने – कबड्डी! दर्शकलाई पेट दुखाउने तनाव! भरपुर मनोरन्जन गराउने तनाव। जुन तनाव काठमाडौँ सम्म अाईपुग्छ र बिबिध घटना, अावेग अनि जालझेल पन्छाउँदै सुखद रुपमा फर्किन्छ त्यहि सुन्दर नौरिकोटमा…
एउटा सिनेमा राम्रो बन्न चाहिने निर्देशन, अभिनय, छायांकन, कथा बिचको राम्रो तालमेलले कबड्डीलाई पुरातन सोँचका नेपाली फिल्मबाट माथि उठाएको छ। कथाको प्रस्तुतिमा प्रयोग गरिएका विम्वहरुको राम्रो संयोजन तथा प्रस्तुतिकरणले गुरुङको निर्देशकिय क्षमता गज्जब देखिएको छ। Dialogue र Characterization उत्कृष्ट छ।पात्रहरुलाई घोकाइने संवादबाट कबड्डी मुक्त छ। बोलिचालीकै भाषा शशक्त छ।
‘कुन दिन डाइरेक्ट अाई लभ यु ठोक्दिन्छु ;)’
प्राय नाटकमा प्रत्यक्ष अभिनयमा देखिने गरेका कलाकारहरुले फिल्ममा अा-अाफ्नो भुमिकालाई राम्ररी न्याय गरेका छन्। ‘लुट’ को गोफ्ले पात्रबाट कलिवुड हल्लाएका दयाहाङ राई (काजी)को अद्भभुत अभिनय कबड्डीमा उतिकै देखिन्छ, हास्य पात्रको अाक्रामक स्वरुप उतिकै शानदार छ। सोल्टिनीको रुपमा रिश्मा गुरुङको सुरुवात एकदमै राम्रो छ। निर्देशकको रुपमा लुट मच्चाएका निश्चल बस्नेत (विवेक) ले देखाएको अभिनय कला पनि वास्तविक छ। यस्तै अन्य सबै कलाकारहरु फिल्ममा फिट छन्… न कतै अोभर-एक्टिङ छ न कतै लम्बेतान कथा! एउटा प्रेमको कुरा, केही थकाली संस्कृतिको कुरा, बिदेशमा रोजगारीका लागि लाखौंको सम्पति दलाललाई दिएर यता न उताका भएका युवाहरुको कुरा, भुमिगत बसेर गुण्डागर्दी गर्नेका कुरा, धेरै रमाईला कुरा अनि केही सामान्य तथा केही तनाव दिने कुराहरु परिस्थिति अनुसार सशक्त देखिन्छन्। फिल्मको संगित पक्ष संतोषजनक छ… फिल्मकै दौरान अाउने गीत ‘माया खै कसले बुझ्यो…’ ले कथालाई सामान्य रुपमा अघि बढाउँछ।
‘हैन ओ दाइ, यो घोडा हो कि खच्चड हो?’ … … ‘राँगो हो भाई’…
फिल्मको सिनेम्याटोग्राफी केही ठाउँमा बाहेक एकदमै राम्रो छ। केही पहिला अाएको नेपाली फिल्म ‘कागबेनी’ले देखाएको मुस्ताङको सुन्दरतालाई यो फिल्मले झन शशक्त पारेको छ। प्राय: नेपालको मरुभुमिको रुपमा चित्रण गरिने ‘खैरो मुस्ताङ’मा देखिएको हरियालीले स्वर्गिय अनुभुति दिन्छ। नौरिकोटको सुन्दरता देख्दा, अहिलेनै त्यहाँ पुग्न पाए हुन्थ्यो जस्तो बनाउँछ। त्यस्तै गरी नौरिकोटको गाउँले जीवन तथा राम्रा-नराम्रा घटनाहरु पनि दृश्यमा सङ्ग्रहित भएका छन। प्राय चोभार तिरै अल्झिरहने फिल्मका निर्माताहरुलाई पनि यता देखिएको सुन्दर नेपालले प्रभाव पार्न सक्छ। केही द्वन्दका दृश्यको क्वालिटि भने कम लाग्छ। सम्पादन तथा दृश्य संयोजन पक्ष पनि राम्रो छ ।
कबड्डी, एक चोटी पक्का हेर्नुस्, दुई तीन चोटि चाँहि तपाईको ईच्छा 😉
अावश्यक सबै पक्षको सन्तुलित प्रस्तुतिले कबड्डीलाई पूर्ण मनोरन्जनात्मक फिल्म बनाएको छ। नयाँ निर्माता निर्देशकहरुको अागमन र तिनको राम्रो प्रस्तुतिले भरपुर दर्शक तान्न थालेको कलिवुडले २०७१ सालको सुरुमै अर्को उत्कृष्ट फिल्म पाएको छ। हिन्दि र अंग्रेजीनै प्राथमिकतामा पर्ने मल्टिप्लेक्सहरुले पनि नेपाली फिल्मलाई राम्रो समय दिन थालेका छन, दर्शकहरुपनि नेपाली फिल्मको स्तर उन्नतिले उत्साहित छन्, राम्रो फिल्म बने कस्ले हेर्थेन र! हैन त? 😉