‘अथिति देवो भव:’ भनेर कुनै नचिनेको मान्छेको पनि सेवा – सत्कार गर्ने नेपाली समाजको केहि हिस्साले अाफ्नै परिवारका सदस्यलाई हेलाँ गर्छ भन्दा जो कोहिलाई पनि अचम्म लाग्न सक्छ तर यो सत्य राजधानीबासीहरुको लागि टाढा छैन। जन्म देखि मृत्युसम्मको मानव जीवन भित्र एउटा मान्छेले अनगिन्ति कार्यहरु गर्दछ र तिनै कार्यहरुले नै वास्तवमा उसको पहिचान बन्छ। अाफ्नो ब्यवसायमा जति सुकै प्रगति गरेपनि समाजमा निर्वाह गरेको भूमिकामा भरपर्छ उसको सामाजिक अस्तित्व। जीवनका बिबिध पाटाहरु बिचका पारिवारिक तथा मानवताका नाताहरुको स्थिति खोतल्ने प्रयास हो यो, पशुपति बृद्धाश्रमबाट, जुन पशुपति मन्दिर परिसरमा रहेको छ र बृद्धाश्रममा अहिले झण्डै २३०को संख्यामा बृद्ध – बृद्धाहरु अाश्रय लिइराखेका छन्।
एउटा परिवार, जहाँ हुन्छन् – अामा, बुवा र छोरा-छोरी। जीवनको उँभौली उँधौलीमा अामा-बुबाले सन्तानकोलागी दु:ख गर्छन्, पालन-पोषण गर्छन्, हुर्काउछन्, बढाउँछन्, पढाउँछन… छोरा-छोरीको सम्पुर्ण इच्छा पुरा गर्छन अनि जब छोरा-छोरी ठुला हुन्छन त्यतिबेला अामा-बुवा बुढा भइसकेका हुन्छन् र तिनलाई पालन-पोषण गर्ने समय अाउँछ अनि छोरा-छोरीले अामा-बुवाले अाफ्नो लागि गरेको दु:ख क्षणभरमा बिर्सन्छन्, उनिहरुले न त पारिवारिक नाताको बारेमा सोच्छन् न त उनिहरुसँग मानवता नै बाँकि हुन्छ, त्यतिन्जेल छोरा-छोरीको हृदय ढुंगामा परिणत भइसकेको हुन्छ। त्यसैको प्रतिफल स्वरुप छोरा-छोरीले बुढा-बुढीलाई चटक्क माया मारेर बृद्धाश्रममा लगेर छाड्छन् अनि ठान्छन् कि उनिहरु अब स्वतन्त्र भए, थाप्लोको बोझ हट्यो। अाफ्ना छोरा-छोरीको झन् धेरै माया, सम्मान र सुसार चाहिने समयमा अमानविय व्यहोरा देखाउने छोरा-छोरीको यो समाजमा कमी रहेनछ।
कुरा यहि बैशाख २८ गतेको हो, राजु दाई र शम्भू दाई को अामाको स्वर्गारोहणको १३औँ पुण्यतिथीमा पशुपति बृद्धाश्रमका बृद्ध – बृद्धाहरुलाई फल-फूल तथा अन्य खानेकुरा बितरणकालागि उहाँहरु र अन्य साथीहरु सँग म पनि सहभागी थिएँ, त्यहि मौकामा ज्येष्ठ नागरिकहरुको अवस्था नजिकबाट नियाल्ने मौका मिल्यो। समाज तथा घरबाट निकालिएका ६०-६५ उमेर भन्दा माथिका बृद्ध – बृद्धाहरुको अवरुद्ध गला र कम्पित स्वरमा लुकेको पिडा बुझ्न जो-कोहिलाई पनि गार्हो पर्थेन। कोहिलाई छोरा-छोरीद्वारानै त्यहाँ ल्याइएका त कोहीको अाफन्त कोही नभएका, कारण जे सुकै भएपनि बिभिन्न रोगहरुबाट ग्रसित भई कालसँग पौँठेजोरी खेल्दै बसेका ति बृद्ध – बृद्धाहरुले नेपाली समाजमा लुकेरै बसेको नयाँ समस्याको प्रतिनिधित्व गरिरहेका थिए।
१८ महिना देखि अाफैँ त्यहि बस्दै अाएका धरानका अविबाहित बृद्धले माहौललाई केहि रमाइलो गराए, बिहे किन नगरेको त? भन्ने प्रश्नमा उनले यसो भने, “केहि नहुने …ले बिहे गरेर के फाइदा? फाइदा छ?” कोही केटीले मन पराएनन् त तन्नेरी हुँदा? भनेर सोध्दा जवाफ यस्तो थियो, “अाईमाईले बिहे गर्छु भनेर भन्छन् र? अहिले चैनि काठमाडौँमा भन्छन्, अहिले चाहिँ काठमाडौमा … बाउ-अामानै छक्याएर म त्यहाँ पर पुगेर अाइहाल्छु भनेर जान्छ अलि पल्तिर भरे …“
स्वास्थ्य क्षेत्रमा भएका बिबिध प्रगति, सामाजिक रहन-सहनमा नयाँपन सँगै नेपालीहरुको औसत अायु बढिरहेको बर्तमान अवस्थामा बृद्ध – बृद्धाहरुको संख्यापनि बृद्धि हुनु नौलो होइन तर त्यहि अनुसार समाजमा ज्येष्ठ नागरिकले पाउनुपर्ने सम्मानमा कमी अाउनु भने दुखद कुरा हो। बैज्ञानिक जीवनशैली अपनाउने नाउँमा अाफ्नो उत्तरदायित्वबाट पन्छिने प्रबृत्ति हाबि हुँदा यो यसले जटिल समस्याको रुपमा समाजलाई गाँज्दै लगेको छ।
सोहि शिलशिलामा छोराले ल्याएर छाडे देखि बृद्धाश्रममा अाश्रय लिइरहेका एक बृद्धले भने, “छोरो एउटै थियो, त्यो मेरो लायक नि भएन, हजुरको लायक नि भएन, अाफ्नो इच्छा… म अाको यहाँ ४ बर्ष ५ वर्ष भयो, सम्बन्ध छैन“। “छोराले बुबा खोज्दैन? ” भन्ने प्रश्नमा उनले भने, “खोज्ने भा यहाँ ल्याएर राख्थ्यो?“
बृहत पारिवारिक संरचनामा मुख्य रुपमा आधारित हाम्रो समाज बिस्तारै एकल परिवार प्रति अाकर्षित हुँदैछ। पश्चिमि देशहरुको प्रभाव भनौँ वा समयको खेल, व्यक्तिवाद हावी हुँदैछ, ‘हामी’ अब ‘म’ बन्दैछ। देशमा बिद्ध्यमान बेरोजगारीको समस्याले गाँउ-घरतिर पनि बृद्ध – बृद्धाहरु एक्लो जीवन विताउन बाध्य भएका छन्। समस्यै-समस्याले ग्रसित देशमा न त सरकारले नै केही गर्न सकेको छ। निती छ तर कार्यान्वयनको अाभास छैन। अस्पताल, यातायात लगायतका ठाउँहरुमा बृद्ध – बृद्धाहरुलाई बिशेष आारक्षणको ब्यबस्था भएपनि, सेवा प्रदायकहरुनै यो मान्न हिचकिचाउँछन्। ‘जेष्ठ नागरिकलाई सम्मान गरौँ’ भन्ने नारा घन्काएर भाषणमा ताली खानु भन्दा बढि राजनिती गर्नेले पनि केहि गरेको स्थिति छैन।
महिला, वातावरण तथा समाज कल्याण मन्त्रालयद्वारा सन्चालित पशुपति बृद्धाश्रमले केहि हदसम्म सुबिधा दिएको भएपनि त्यसको अवस्था खासै सन्तोषजनक छैन। बृद्ध – बृद्धाहरुको स्याहार सुसार तथा मायामा कमी छ। घर पुरानो छ र बृद्ध – बृद्धाहरुको लागि अनुकुल छैन। शौचालय टाढा छ। जाडो मौसममा हुने समस्या त हाम्रो कल्पना भन्दा परैको विषय बनेको छ। जो पुग्छन्, सबैले अाशमात्र देखाउँछन् तर दिगो समाधानकोलागि कसैको पहल देखिदैन।
समाजमा परिवारको महत्व घट्दै गयो भने जेष्ठ नागरिकको बिषय एउटा जटिल समस्याको रुपमा खडा हुन सक्छ। जेष्ठ नागरिकको सम्मानको लागि युवा बर्गलाई नैतिक तथा सामाजिक शिक्षा दिनु नितान्त जरुरी छ।
यदि अहिले कसैले बृद्ध – बृद्धाहरुको सम्मान गर्न सक्दैन भने पछि उसलाई अाफ्नो सम्मानको अाश गर्ने कुनै नैतिक अाधार हुने छैन।
किताबमा मात्र भर परेर पढाउनु भन्दा बिद्दालयले पनि बेला-बेलामा सामाजिककार्यमा विद्दार्थीलाई सक्रिय गराउन सक्यो भने जेष्ठ नागरिकप्रति उनीहरुको द्रष्टिकोणमा बदलाब भई केही हद सम्मै भएपनि समाज सुधारको बाटोमा जानेछ। त्यस पछिमात्र सानो छँदा मर्लाकि भनेर दिलो-ज्यान लगाउने अामा-बुबाले छोरा-छोरी ठुलो भएपछि अाफूलाईनै मार्ला कि भन्ने पिर लिन पर्नेछैन।
Leave a Reply