अाशा थप्न खोज्दा हराएको ‘छड्के’!

सपना सबैको हुन्छ, पैसा कमाउने… ठुलो मान्छे बन्ने… सबैको हाई हाई बटुल्ने। सपना पुरा गर्ने बाटो फरक फरक छन्, एउटा सिधा बाटो… दुख पाउने बाटो, जुन बाटो राम्राकुरा हरुले भरिएका छन् र त्यसले सपना धेरै दिन लगाएर पुरा गराउँछ त कहिलेकाहिँ अपुरै छाड्न बाध्य पनि! अर्को छ, बाङ्गो बाटो… दुख दिने बाटो! छिटै सपना पुरा गराउने यो बाटोका क्रियाकलाप न त समाजलाई पाच्य हुन्छन् न कानुन सम्मत नै। त्यहि बाङ्गो बाटोमा हिडेको हाम्रो समाजको एउटा धमिलो चित्र हो, छड्के! हत्या, हिंसा, राजनिती, गुण्डागर्दी, लागुअौसधको व्यापार, बन्यजन्तु तस्करी अादि छड्के कुराहरुलाई चलचित्र ‘छड्के’ले २ घण्टा १० मिनेटसम्म सँगाल्छ।Screen Shot 2013-02-24 at 9.37.43 PM

प्रिन्सेस मुभी र रस ताण्डव ताण्डवको ज्वइन्ट भेन्चर, निगम श्रेष्ठको लेखन तथा निर्देशनमा बनेको नेपाली चलचित्र छड्केले प्राय शुन्यताको स्थितिमा गुज्रने कलिवुडमा प्रदर्शन भएको दुई दिन राम्रै ताप दियो। सौगात मल्ल, रबिन तामाङ, नम्रता श्रेष्ठ, अर्पण थापा, दयाहाङ राई, प्रतिकराज न्यौपाने, विपिन कार्की, निकुन श्रेष्ठ, कामेश्वर चौरसिया लगायतका कलाकारको अभिनय रहेको यस चलचित्रमा संगीत नाइट व्यान्ड, छायांकनमा संजय लामा छन् भने द्वन्द्व निर्देशनमा योगेन्द्र श्रेष्ठ। स्टार कास्टकै कारणले पनि प्रतिक्षित सिनेमामा को रुपमा चर्चा कमाएको छड्केले सिनेमाको हिंसात्मक द्रिष्य र संवादको लागि सिनेमाको कुनै पनि दृश्यहरु नकाटि ‘सेन्सर वोर्ड’ बाट एडल्ड सर्टिफीकेट पाएको छ।  ट्रेलर र गितको रिलिज सँगै सामाजिक सञ्जालको माध्यममा युबापुस्ताको WatchList मा परेको यो सिनेमाले रिलिजको दिन February 22 पछिका दुई दिन दर्शकहरुले मल्टिप्लेक्समा तछाड-मछाड गरे भने तेस्रो दिन देखि दर्शक पातलिएका छन्। माउथ पब्लिसिटी र सामाजिक सञ्जालमा अाएको निराशाजनक प्रतिक्रियाले ‘छड्के’लाई कलिवुडको बाटो हिड्न अफ्टेरो बनाएको छ।

‘चितवन राष्ट्रिय निकुञ्ज र वरिपरिको गाँउ तथा शहरमै संम्पुर्ण छड्के घुमेको छ। त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट कथा सुरु हुन्छ। बिद्यार्थीको रुपमा अमेरिका पुगेको तर अनैतिक रुपमा काम गरेको थाहा पाएपछि नेपाल फर्काइएका रोसन (निकुन श्रेष्ठ) र प्रक्रिति बिज्ञानका बिद्यार्थी समिर (सौगात मल्ल)को चितवन सम्मको गाडी यात्रा सँगै फिल्म अघि बढ्छ। रोसन अाफ्नो घर चितवन जाँदै हुन्छ भने समिर लहरे बनमाराको रिसर्चको लागि चितवन राष्ट्रिय निकुञ्जमा अाएको हुन्छ। रोसन आफ्नो दाजु–भाउजुकोमा बस्छ। चितवनमा पुगेपछि रोसन अाफ्ना पुराना साथी विन्दू (विपिन कार्की) र योग (कामेश्वर चौरसिया) सँग हिंड्छ। बिन्दु, घरमा निस्केर बसेको हुन्छ, उ सँग कुनै काम हुन्न, गँाजा तान्ने बाहेक! त्यस्तै योग चाँहि भगौडा सैनिक हुन्छ जो द्वन्दकालमा बिद्रोहि कमान्डरको धम्किको कारण जागिर छाड्न बाध्य हुन्छ। दिनभर बरालिनु यि तीनजनाको दैनिकी नै हुन्छ, जुन रोसनको दाईलाई मन पर्दैन। रोसनले काम त खोज्छ तर उसको अावश्यकता पुरा गराउन सक्ने काम भेट्न सक्दैन, एकातिर भनेजस्तो काम नपाएको चिन्ता त अर्को त्यहि बिषयमा दाईको किचकिचसँगै उ निरिह हुन्छ।

chadke-poster

अर्को तिर राजनीतिक संरक्षण पाएको ‘रोयल ग्याङ’ जो पहिले देखिनै चितवनमा खाग तस्करी, टेण्डर, हप्ता असुली, हत्या जस्ता कार्यमा सक्रिय हुन्छ। छ जनाको यिनीहरुको समूहमा छेवाङ (रविन तामाङ), सोली (नम्रता श्रेष्ठ), दावा (दयाहाङ राई), अस्लम, टाटे (प्रतीकराज न्यौपाने), बोक्सी थारु (अर्पण थापा) हुन्छन् र सबैका गुण्डा नेता हुन्छन् छेवाङ। सबै तिर उनिहरुकोनै हालिमुहाली हुन्छ भने रक्सि र चुरोट त उनिहरुको अाधारभूत अावश्यकता। त्यसै क्रममा  एक दिन रोसनको दाजुको दुर्घटना हुन्छ, छेवाङको कारण। रोसनको दाजु ICU मा उपचाररत हुँदै गर्दा ‘रोयल ग्याङ’का दावा र टाटेले रोसनको परिवारलाई अस्पतालमै पुगेर धम्क्याउँछन्, धम्किपछि उनिहरु मुकदर्शक बन्नु शिवाय अरु केही गर्न सक्दैनन्। बिपक्षि राजनैतिक दलका नेता (सुनिल पोखरेल) ‘रोयल ग्याङ’का छेवाङलाई मार्न चाहन्छन् र तिनै बरालिएका तीन जनालाई ५० लाखको अफर दिन्छन्। अहिलेसम्म अाँफुले पाएको दुखहरु सम्झेरै केही दिनपछि तीन जनाले अफर स्विकार गर्छन् र नयाँ ‘कुरी ग्याङ’ तयार हुन्छ। नेताजी त्यहि नयाँ ग्याङ्को माध्यमबाट बदला लिन चाहन्छन् अर्को दलको राजनीतिक संरक्षण पाएको ‘रोयल ग्याङ’ सँग। त्यतिबेला ‘रोयल ग्याङ’ खाग तस्करीको तयारीमा लागेको हुन्छ। उता एक्को अध्ययनकर्ता समिर निकुञ्जबाट अनुमति लिएर बनमाराको अध्ययनमा ब्यस्त हुन्छ। ऊ जंगलमै रमाइरहेको हुन्छ। अध्ययनकै क्रममा जंगलमा हुँदा, गैडा मार्न खोज्दै हिडेको बोक्सी थारुले जंगलमा समिरलाई भेट्छ,  खबरे भन्ठानेर समिरलाई जंगलमै लखेट्छ र भाग्दा भाग्दै समिर हिलोमा भासिन्छ, बोक्सीले उसको देब्रे छातिमा छुरा रोप्छ, समिर मरेतुल्य हुन्छ। ‘दिमाग ठीक ठाँउमा भए पनि मुटु ठीक ठाँउमा छैन’ भन्ने समिर त्यहि ठीक ठाँउमा नभएको मुटुको कारण बाँचेर दल दल बाट निस्कन्छ।

दुबै ग्याङ अाफ्नो अाफ्नो काममा व्यस्त हुन्छन। ‘कुरी ग्याङ’ ‘रोयल ग्याङ’का लिडर छेवाङलाई मार्न लागिपरेको हुन्छ। त्यतिकैमा कुरी ग्याङका केटाहरुले छेवाङको हत्या गर्छन् एउटा प्रोग्राममा बोल्दै गर्दा। ‘रोयल ग्याङ’का दावा बाहेक अरु सबैलाई प्रहरीले पक्राउ गर्छ, यिनीहरु जेल पर्छन्। दावाले भने तस्कर पक्राउ गराउन सहयोग गरेको भन्दै सम्मान पाउँछ। ‘रोयल ग्याङ’को अन्त पछि कुरी ग्याङका केटाहरुको चितवनमा हालिमुहाली हुन्छ, जसका प्रत्यक्ष संरक्षक हुन्छन्, नेता सुनिल पोखरेल। अाजीवन कारावास भनेपनि दुईवर्ष पछि ‘रोयल ग्याङ’का सदस्यहरु एकदमै सजिलो सँग जेलबाट भाग्छन्। त्यसपछि सुरु हुन्छ हिंसाको पराकाष्ठ। जंगलप्रेमी समिर त्यतिबेला सम्ममा सम्पुर्ण रुपमा जंगली भइसकेको हुन्छ, ढुङ्गे युगको जस्तै। ‘कुरी ग्याङ’ त्यतिबेला काठ तस्करीको लागि रुख काट्नमै व्यस्त हुन्छ। त्यतिनै बेला देखि नै ‘कुरी ग्याङ’ र ‘रोयल ग्याङ’ बीचको दोहोरो हिंसा हुन्छ। जंगलमा नराम्रो काम भएको मन नपराउने समिर पनि जंगली पारामा दुबै ग्याङका सदस्यलाई मार्दै जान्छ र अन्त्यमा दुबै ग्याङ सखाप हुन्छन्। पहिला मञ्च बाटै चितवन कहिले पनि बन्द नगर्ने भनेका नेता सुनिल पोखरेलले अाफ्ना गुण्डा सबै मारिएपछि चितवनठप्प पार्ने घोषणा गर्छन र  जंगलमा समिरको गर्जन सँगै फिल्म सकिन्छ।’

संवादको दृष्टिकोणमा बिन्दु र दावाले दर्शकहरुलाई भरपुर मनोरञ्जन दिन्छन्। बिन्दुको हाउभाउ सम्झन लायक छ। समिरको प्रदर्शन अब्बल छ तर मध्यान्तर पछि ढुङ्गे युगिन मानव जस्तै त कताकता भगवान शिव जस्ता देखिने पात्र बनेका उनको भुमिका देखेर दर्शकहरु हराउन सक्छन्। चलचित्रका मुख्य पात्र भनिएपनि छेवाङको न त सुरुवात दमदार छ न त अन्त नै। उनको मृत्यु सजिलो देखिन्छ! चितवन हल्लाएर बसेको ग्याङको मुख्य पात्रको सहज अन्त्य पाच्य छैन, छड्के बाटोमा हिँडेको मान्छेको अन्त्य भएकाले त्यसलाई खासै वास्ता नगरिएको हो कि! त्यस्तै नयाँ रुपमा देखिएकी सोली (नम्रता श्रेष्ठ) को अघिकांश समय कि त धुँवा उडाउनमा बित््छ किन त गोली हान्नमै। थुप्रै अन्य कलाकारहरुको जमघट रहेको छड्केमा ति कलाकारको उपस्थिति ‘ट्यापे’, मुन्द्रे र ‘गँजडी’को प्रतिनिधिको रुपमा भएको छ। सिनेमामा नेपाल प्रहरीलाई निरिह रुपमा देखाइएको छ। बिभिन्न पार्टिका नेताको संरक्षणमा हाम्रो समाजमा मौलाएको अपराधलाई छड्केले समेट्नु यसको राम्रो पक्ष हो। गरिबी र बेरोजगारीले युवामा उत्पन्त गराउने मानसिक तनावले लिएको बिक्रित रुप छड्केमा उजागर भएको छ। समग्रमा कलाकारहरुले अाफ्नो कलाको राम्रै प्रदर्शन गरेका छन। अपराधिक समूहमै भएपनि ‘हिमाल, पहाड, तराई! हामी सबै नेपाली दाजुभाई!’ भन्दै बिबिध जातजातिको प्रतिनिधित्व गराइएको छ, त्यहि कुरालाई रचनात्मक काममा प्रयोग गर्न प्रेरणा दिन सकेको भए छड्केको अन्त तिर दर्शकले खल्लो महशुस गर्ने थिएनन्।

हिंसात्मक सिनेमाको रुपमा अाएको छड्केमा हिंसाका दृष्य अाउनु अनौठो नभए पनि मध्यान्तरपछिका केही दृष्य अप्राक्रितिक लाग्छन्। गीत तथा पृष्ठसंगित उत्कृष्ठ छ। नेपाली बाजाहरुको नेपाली धुन कर्णप्रिय लाग्छ। दुई गितहरु ‘हात्ति-भालु’ र ‘एक एकान दुई’ बाल गित जस्ता लागेपनि रमाईला छन्।  प्रायजसो चितवन राष्ट्रिय निकुञ्ज र त्यसको वरिपरि खिचिएका दृष्यहरुमा चितवनको सुन्दरता झल्किएको छ। यसलाई सफल Cinematography मान्न सकिन्छ तैपनि कथा, पटकथाको राम्रो तालमेल नहुँदा दर्शकहरुले आशा गरे अनुसारको मनोरञ्जन छड्केले दिन सकेको छैन। यस सिनेमाको प्रतिक्रियालाई सहज रुपमा लिएर निर्माता/निर्देशकले अाउने दिनमा राम्रा नेपाली सिनेमा बनाउन भन्ने शुभकामना।

{६/१०}

[नोट: नितान्त व्यक्तिगत धारणा मात्र]

2 Comments

  1. palansh

    छड्के बाटोमा हिँडेको मान्छेको अन्त्य भएकाले त्यसलाई खासै वास्ता नगरिएको हो …..! छड्के- “अचानक वा बेला-बेलामा हुने जाँच, चेक” (नेपाली बृहद शब्दकोश), hope u got it

  2. itscoolsky

    छड्के भनेको बाङ्गो! बाङ्गो बाटो भनेको समाजले स्विकार नगर्ने बाटो! Hope you also got it.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.