वैद्य बाजेको परम्परा!

फाल्गुणको महिना, दुई दिनको झरीले भिजेको देश अनि राजधानी शहर काठमाडौँ। झरी सँगै सुख पाएका बाटोका धुलाहरुले अाज झन सुख पाए जतिबेला हामी नेपालीहरुले महान चाड ‘नेपाल-बन्द’ मनाइरहेका थियौँ। बाध्यात्मक रुपमा चाड मनाउँन पर्दा कतिले वैद्य बाजेको परम्परालाई हामीले किन मनाउने? भनेर गाली नि गरे होलान्… तर अाइतबार र सोमबार दुई दिन बिदा हुँदा पनि अझै बिदामै रमाउन चाहिरहेका म जस्तै थोरै मनलाई भने यसले अानन्दित नै गरायो!

भोलीपल्ट बिदा छ भन्ने भान पर्ने बितिकै ३ बजे सम्म नदिउने मेरो बानीमा अाज पनि खासै परिवर्तन भएन, १० बजे उठेर खाना खाईसकेपछि म पनि लागेँ बन्द मनाउन मैतीदेबीबाट सेतोपुल हुँदै बतिसपुतली को नजिक, कुशल दाई र राजुको कोठातिर … छेक्ने बादल नहुँदा मख्ख परेर प्रिथ्वी तताउँदै गरेको मध्यान्नको घाम सँगै अगाडि बढ्दै गर्दा बाटो खालि प्राय देखिन्थ्यो। फाट्टफुट्ट मोटरसाइकल, प्रेस, अस्पताल, पर्यटक र सुरक्षा निकाय बाहेक अरुका सवारी साधनले पनि अाज घरमै सुख भोगिरहेका थिए। केही समयको हिडाई पछि म साथीहरुकोमा पुगेँ। कोठामा मद्रासी फिल्मको रौनक थियो अनि बिज्ञापनको समयमा चाँहि टाईटानिक, शायद राजु टाईटानिक सयौँ चोटि हेर्ने रेकर्ड नजिक थियो। त्यसका साथ साथै कहिले काँहि कान्तिपुर टिभिको फ्लप सो! जहाँ हाम्रा होनाहार नेता र होनाहार अभिनेता प्रेम प्रस्ताव राख्दै थिए। त्यसैविच राजु दाई को फोनले दुई बजे बाहिर निस्कने बनाईदियो र साथ दियो लोडशेडिङले पनि। हामी नेपाली भन्न त नेपाली समयनै भन्छौँ तर प्रयोगमा ल्याउँछौ छिट्टै भए पनि भारतको तर कहिलेकाहिँ पुग्छौँ पाकिस्तान तिर पनि। केहि समय पछि कोठाबाट निस्केर हामी लाग्यौँ सेतोपुल हुँदै बत्तिसपुतलीतर्फ। बन्दको समय हुँदा पनि चिया खाने पसल खोज्दै पुग्यौँ बतिसपुतलीको द्वारिका होटल अगाडि, ‘कान्तिपुर चिया पसल’मा। बिहानै कान्तिपुर टिभिको गाडि फुटाएको थाहा नभएर होला कि? यो कान्तिपुरलाई कुनै डर थिएन। त्यतिन्जेल सम्म पनि राजु दाई अाईपुग्नु भएको थिएन, अाउँथ्यो त केवल वहाँको फोन र बाटोमा छु भन्ने जानकारी। केही समयको पर्खाइपछि थपियो एउटा कालो चियाको अर्डर जहाँ एउटा सेतो र दुइटा कालो चियाको अर्डर पहिलेनै भइसकेको थियो। सेतो चिया त छिट्टै अायो तर कालोलाई निकै बेर पर्खन पर्यो। तैपनि भोजपुर देखि युगाण्डा सम्मका कुराले समय बितेको पत्तो भएन। चिया पछि हामी लाग्यौँ गौशाला हुँदै पशुपतिनाथ तर्फ। त्यतिन्जेल पनि बन्द गराउने जुलुस देखीएको थिएन तर गौशाला चोकमा पुगेपछि देखियो रातो झण्डा मुनिनै हराएका केहि कार्यकर्ता र सुरक्षामा खटिएको प्रहरी। चोकमा निन्याउरा देखि मख्ख अनुहार यत्रतत्र घुमीरहेका थिए। सुन्तला र बदामका ठेलाहरु पनि भार छिट्टै कम भएकोमा खुसि थिए भने तिनका मालिक चाँहि खल्ति छाम्दै मख्ख।

केहि बेरमा पुगियो पशुपतिनाथको मन्दिर परिसरमा, बाहिरबाटै दर्शन गरेर हामी लाग्यौँ मन्दिरको उत्तर तिरको अग्लो डाँडा तिर, घाम तापेर बदाम र सुन्तला खाने प्लान गर्दै। माथि निकै नै चहल पहल थियो, बन्द मनाउनेहरुको भीड। सुन्तलाको बोक्रा र बदामको छोक्रा यत्र-तत्र छरिएका थिए। हामी पनि चउरको एक छेउ बस्यौ घाम ताप्दै। अरुबेला त्यहि ठाँउ जाँदा डाले सुपर मार्केट हाम्रै ठाँउमा अाइपुग्थ्यो तर अाज त्यस्तो भएन। खोला नअाउने पक्का भएपछि त तिर्खा नै मुल तिर धाउनै पर्यो। तर बिडम्बना! सबै डाले बजार चहर्दा पनि खोजेको कुरा केही पाइएन सिर्फ पानी बाहेक। अरुबेला बेलुका ५ बज्दा पनि खाली गर्न गार्हो पर्ने डालो र अाज त सजिलै सकिएछ, साहुहरुले त मनमनै वैद्य बाजेलाई धन्यबाद दिँदै थिए होलान्… केही नपाएपछि हामी नि लाग्यौ फर्कन तर्फ। गौशाला चोक पुग्दा त अगि देखिएका झण्डामुनिका कार्यकर्ता हराइसकेका थिए र प्रहरी व्यस्त थिए बाटो खाली गर्न किनकि उनीहरुलाई माथिबाट अादेश अाएको रहेछ कि ‘प्रधानमन्त्री को सवारी छ, बाटो खाली!‘। केहि बेरमा मा सुरक्षाको लाम-लस्कर सँगै हुईँकियो ‘मुस्ताङ म्याक्स‘… हेर्दा उदेक लाग्यो! केहि बर्ष अघि सम्म जँगलमा कन्दमुल खाने बाबुराम अहिले राजकुलमा पो पुगेछन् त! उत्तर नभन्ने नै भएनि वहाँ लाई प्रश्न सोध्न मन लाग्यो, ‘जनता सबै दु:ख बेसाउँदै बाटोमा हिड्दै गर्दा हजुर गौशाला हुँदै लाग्नु भो! बन्दको दिन पनि १५ मिनेट पहिला देखि बाटो खाली गरेर! अाँट छ सँगै हिड्ने?‘ त्यतिबेला त मन मनै सोधियो पछि रिस फेरियो ट्विटरमा… लम्कदै गर्दा बल्ल भेटियो बदामको डालो! पसल सबै प्याक गरेर फेरी सुरु भो हाम्रो फिर्ति सवारी… बजारको चहलपहल केही बढेको देखिन्थ्यो, पसलहरुपनि अलि बढि खुलेका थिए, सडकभरि मान्छे छरिएका थिए, काउली र साग बाटोमा कुरिरहेका थिए ग्राहकलाई, हेर्दा नै लैजाउँ लैजाउँ लाग्ने स्वच्छ रुपमा! त्यस्तो देख्दा राजु दाइको मन मानेन! त्यसपछि प्याक गर्नुभो एक फिट अग्ला दुई मुठालाई। त्यतिन्जेलसम्ममा सडकमा गाडि दौडन लागेका थिए भने हाम्रो पेटमा मुसा। जति मुसा दौडेपनि चिया र फ्रुट केकको सानो प्याक बाहेक केही भेटिएन। त्यसैले पनि केही राहत दियो। एकछिनको बसाई पछि राजु दाई सागलाई नबिर्सिकन घर तिर जानु भो भने हामी तीनजना चाँहि रसवरी खाने भन्दै कमलपोखरी तिर, दुध सागर खुल्छ होला भन्ने झिनो अास लिएर! सेतोपुल, रातोपुल, ज्ञानेश्वर हुँदै कमलपोखरी त पुगियो तर रसवरीको सट्टा त्यसको बन्द सटर र बोर्ड हेरेर चित्त बुझाउनु बाहेक अरु बिक्लप भएन। त्यँहाबाट गुलियो पानलाई रसवरी सम्झेर चपाउँदै लागियो डिल्लिबजार तिर! डिल्लिबजारको लालमोहनको स्वाद त याद अाउदै थियो तर त्यसमा नि खासै अास भने थिएन, नभन्दै त्यो पनि बन्द नै थियो। अब भने बन्दको हिँडाई टुङ्गयाउने तिर हाम्रो एकमत भयो किनकी थकाईले हद पार गरिसकेको थियो। त्यसपछि हामी सिधा लाग्यौँ मैतिदेवी चोक हुँदै पुन: सेतो पुल तिरै! सकेसम्म छिटो अगाडि बढेको लखतरान जिउ सेतोपुल पारीको क्याफेमा गएर रोकियो। कफि गफसँगैको सानो बिश्रामपछि पाइलाहरु घरको नजिक नजिक हुन थाले। रातोपुल सम्मको खोलाको किनारै किनारको बाटो केसिसिको बिद्यार्थी जीवनका रमाइला घटना सम्झदैमा पार भयो। रातोपुलमा अाइसकेपछि कुशल दाई र राजु समुह ४ तिर लागे भने म चाँहि समुह ३ तिर! अर्को कुनै दिन बचेका सबै काम गर्ने बाचा गर्दै…

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.